तपाईं आफ्नो सम्झने शक्‍ति बढाउन सक्नुहुन्छ

तपाईं आफ्नो सम्झने शक्‍ति बढाउन सक्नुहुन्छ

सम्झन सक्ने अचम्मको क्षमतासहित यहोवा परमेश्‍वरले मानव मस्तिष्क बनाउनुभयो। उहाँले त्यसलाई एउटा अथाह भण्डारजस्तै बनाउनुभयो जसमा राखिएका बहुमूल्य चीज निकाल्न सकिन्छ तर त्यो कहिल्यै रित्तिंदैन। मस्तिष्क जसरी डिजाइन गरिएको छ, त्यो मानिसहरू सधैंभरि बाँचून्‌ भन्‍ने परमेश्‍वरको उद्देश्‍यसित मेल खान्छ।—भज. १३९:१४;यूह. १७:३.
तर दिमागमा भरेको धेरैजसो कुरा बिर्सिएको जस्तो तपाईंलाई लाग्छ होला। चाहिएकै बेला ती कुरा याद नआउन सक्छ। त्यसो भए, स्मरणशक्‍ति बढाउन तपाईं के गर्न सक्नुहुन्छ?

चासो लिनुहोस्‌

स्मरणशक्‍ति बढाउने हो भने चासो लिनै पर्छ। अवलोकन गर्ने बानी बसालेका छौं र मानिसहरूमा तथा वरपरका कामकुरामा चासो लिने बानी बसालेका छौं भने हाम्रो दिमाग सक्रिय हुन्छ। दिमाग सक्रिय छ भने एकदमै महत्त्वपूर्ण कुरा पढ्‌दा वा सुन्दा तिनमा चासो लिन सक्नेछौं।
नाम याद गर्न गाह्रो हुनु सामान्य हो। तर ख्रीष्टियन भएकोले सँगी ख्रीष्टियनहरू, हामीले प्रचार गर्ने मानिसहरू र विभिन्‍न कामले गर्दा भेटिने मानिसहरूको नाम सम्झनु महत्त्वपूर्ण छ भनी हामीले बुझेका छौं। तिनीहरूको नाम कसरी सम्झिरहन सक्छौं? प्रेषित पावलले एउटा मण्डलीलाई लेखेको पत्रमा उक्‍त मण्डलीका २६ जनाको नाम उल्लेख गरे। मण्डलीका सदस्यहरूको नाम मात्र होइन, उनीहरूसित सम्बन्धित केही खास बुँदा पनि उल्लेख गरेकोले पावल ती २६ जनाप्रति साँच्चै चासो राख्थे भन्‍ने देखिन्छ। (रोमी १६:३-१६) अहिले पनि केही परिभ्रमण निरीक्षकहरू नाम सम्झन खप्पिस छन्‌। हप्तैपिच्छे फरक-फरक मण्डलीमा भ्रमण गर्ने भए पनि तिनीहरू नाम सम्झन सक्छन्‌। कसरी? कसैसित पहिलो पटक कुरा गर्दा उनीहरूको नाम बारम्बार दोहोऱ्‍याउने बानी परिभ्रमण निरीक्षकहरूले बसालेका हुन्छन्‌। कसको नाम के हो, तिनीहरू अनुहार हेरेर याद गर्ने कोसिस गर्छन्‌। साथै तिनीहरू फरक-फरक व्यक्‍तिसित प्रचारमा जान्छन्‌ र फरक-फरक व्यक्‍तिकहाँ खाना खान्छन्‌। कसैलाई भेट्‌दा के तपाईंलाई तिनको नाम याद हुन्छ? तिनको नाम याद गर्नु किन महत्त्वपूर्ण छ, विचार गर्नुहोस्‌ र माथि दिइएका सल्लाह लागू गर्ने कोसिस गर्नुहोस्‌।
पढेको कुरा सम्झनु पनि महत्त्वपूर्ण छ। यस क्षेत्रमा उन्‍नति गर्न तपाईं कसरी मदत पाउन सक्नुहुन्छ? पढेको कुरामा चासो दियौं र पढेको कुरा बुझ्ने प्रयास गऱ्‍यौं भने मदत पाउन सक्नुहुन्छ। पूरा ध्यान दिन जे पढ्‌दैछौं त्यसमा गहिरो चासो लिनै पर्छ। पढ्‌ने बेला तपाईंको ध्यान अन्तै छ भने पढेको कुरा याद गर्न सक्नुहुन्‍न। आफूलाई थाह भएका कुरासित अहिले पाएको जानकारी दाँज्दा पनि तपाईंको ज्ञान बढ्‌नेछ। आफैलाई सोध्नुहोस्‌:- ‘म यो जानकारी आफ्नो जीवनमा कहिले र कसरी लागू गर्न सक्छु? यो जानकारी अरूलाई मदत गर्न कसरी प्रयोग गर्न सक्छु?’ एक-एक शब्दको साटो शब्दहरूको समूह अर्थात्‌ वाक्यांशहरू पढ्‌दा पनि तपाईं अझ राम्ररी बुझ्न सक्नुहुन्छ। यसरी तपाईंले कुनै पनि जानकारी वा त्यसको मुख्य बुँदा झट्टै बुझ्न सक्नुहुन्छ र सम्झन झनै सजिलो हुन्छ।

पुनरावलोकन गर्न समय निकाल्नुहोस्‌

पुनरावलोकन गर्नुपर्ने महत्त्वलाई शिक्षाविद्‌हरू जोड दिन्छन्‌। प्राप्त जानकारीलाई एक मिनेटभित्र तुरुन्तै पुनरावलोकन गर्दा त्यो जानकारी सम्झन सक्ने सम्भावना दुई गुणाले बढ्‌छ भनी कलेज प्रोफेसरले खोजपूर्ण अध्ययन-अनुसन्धानमा देखाए। त्यसकारण पढ्‌न सिद्धिनेबित्तिकै अथवा केही मुख्य बुँदा पढ्‌नेबित्तिकै ती कुरा मनमा ठप्प बसाल्न मनमनै मुख्य बुँदाहरू दोहोऱ्‍याउनुहोस्‌। सिकेका कुनै पनि नयाँ बुँदा आफ्नै शब्दमा कसरी व्याख्या गर्न सक्नुहुन्छ, त्यसबारे विचार गर्नुहोस्‌। कुनै पनि कुरा पढ्‌नेबित्तिकै दोहोऱ्‍याउँदा त्यो कुरा लामो समयसम्म सम्झिरहन सक्नुहुनेछ।
केही दिनपछि पढेको कुरा अरूसित बाँड्‌नुहोस्‌। परिवारमा, मण्डलीमा, काममा, स्कूलमा, छिमेकमा वा प्रचारमा जो-कोहीसित पनि यो जानकारी बाँड्‌न सक्नुहुन्छ। मुख्य तथ्यहरू मात्र होइन, त्यससित सम्बन्धित बाइबलले दिने आधार पनि दोहोऱ्‍याउनुहोस्‌। यसो गर्दा महत्त्वपूर्ण कुराहरू जस्ताको तस्तै सम्झन सक्नुहुन्छ र तपाईंलाई मात्र होइन, अरूलाई पनि फाइदा हुन्छ।

महत्त्वपूर्ण कुराहरू मनन गर्नुहोस्‌

पढेको कुरा फेरि दोहोऱ्‍याउनु र अरूलाई त्यो बताउनुका साथै ती महत्त्वपूर्ण कुरामा मनन गर्नु फाइदाजनक छ भन्‍ने तपाईंले थाह पाउनुहुन्छ। बाइबल लेखक आसाप र दाऊद पनि मनन गर्थे। आसापले भने: “परमप्रभुका कार्यहरूको म चर्चा गर्नेछु, किनकि म तपाईंका तादिका आश्‍चर्यकामहरू सम्झनेछु। म तपाईंका सबै कामहरूमा पनि ध्यान गर्नेछु, र तपाईंका कार्यहरूमा घोरिन्छु।” (भज. ७७:११, १२) दाऊदले पनि यस्तो लेखे: ‘रातको पहर-पहरमा तपाईंको ध्यान गर्छु’ अनि “म उहिले-उहिलेका दिनहरू सम्झन्छु। म तपाईंका सारा कार्यहरूमा ध्यान लगाउँछु।” (भज. ६३:६;१४३:५) के तपाईंले पनि त्यसै गरिरहनुभएको छ?
यहोवाका काम, उहाँका गुण र उहाँको इच्छाबारे त्यसरी गहिरिएर सोच्दा ती कुरा नबिर्सने मात्र होइन, अरू फाइदा पनि पाउन सक्नुहुन्छ। त्यसरी सोच्ने बानी बसाल्नुभएको छ भने मनमा महत्त्वपूर्ण कुरा ठप्प राख्न सक्नुहुन्छ; असल गुण विकास गर्न मदत पाउन सक्नुहुन्छ। तपाईंले सम्झनुभएको कुराले तपाईंको सोचाइ कस्तो छ, त्यो देखाउनेछ।—भज. ११९:१६.

परमेश्‍वरको पवित्र शक्‍तिको भूमिका

यहोवाका काम र येशू ख्रीष्टले भनेका कुराहरू सम्झने प्रयास गर्दैछौं भने हामी बेसहारा छैनौं। आफ्नो मृत्युको अघिल्लो रात येशूले आफ्ना अनुयायीहरूलाई यसो भन्‍नुभयो: “तिमीहरूसित होउन्जेल मैले सबै कुरा तिमीहरूलाई बताएको छु। तर बुबाले मेरो नाममा पठाउनुहुने मदतगार अर्थात्‌ पवित्र शक्‍तिले तिमीहरूलाई बाँकी अरू कुरा सिकाउनेछ र मैले तिमीहरूलाई भनेका सबै कुरा स्मरण गराउनेछ।” (यूह. १४:२५, २६) मत्ती र यूहन्‍ना पनि त्यस रात त्यहाँ उपस्थित भएका थिए। के पवित्र शक्‍ति तिनीहरूका लागि त्यस्तो मदतगार साबित भयो? पक्कै पनि भयो! येशूको मृत्यु भएको आठौं वर्षमा मत्तीले येशूको जीवनी लेखे। यो नै येशूबारे लेखिएको पहिलो जीवनी हो। त्यो विस्तृत विवरणमा डाँडामा दिइएको उपदेश र ख्रीष्टको उपस्थिति तथा यस युगको आखिरी समयको विस्तृत चिन्ह जस्ता अनमोल कुराहरू सम्झना गरेर लेखिएको थियो। येशूको मृत्यु भएको ६५ वर्षपछि प्रेषित यूहन्‍नाले सुसमाचारको पुस्तक लेख्दा येशूले जीवनको अन्तिम रात आफ्ना प्रेषितहरूसित गरेको कुराको विवरण समावेश गरे। निस्सन्देह येशूसित हुँदा उहाँले भनेका र गरेका कुरा मत्ती र यूहन्‍ना दुवैले राम्ररी सम्झेका थिए। यहोवाले आफ्नो लिखित वचनमा समावेश गर्न चाहेका महत्त्वपूर्ण विवरण नबिर्सन पवित्र शक्‍तिले तिनीहरूलाई मदत गऱ्‍यो।
के आज पनि पवित्र शक्‍तिले परमेश्‍वरका सेवकहरूका लागि मदतगारको काम गर्छ? पक्कै गर्छ! हुन त पवित्र शक्‍तिले हामीलाई कहिल्यै नसिकेको कुराको सम्झना त गराउँदैन तर त्यसले विगतमा हामीले अध्ययन गरेका महत्त्वपूर्ण कुराको सम्झना गराएर मदतगारको काम गर्छ। (लूका ११:१३; १ यूह. ५:१४) अनि जुनबेला “उहिले-उहिलेका पवित्र भविष्यवक्‍ताहरूले बताएका कुराहरू अनि हाम्रा प्रभु र उद्धारकले . . . दिनुभएका आज्ञाहरू” सम्झनुपर्ने हुन्छ, ठीक त्यहीबेला ती कुराहरू सम्झन सक्छौं।—२ पत्रु. ३:१, २.

“होशियार बस! . . . तिमीहरूले बिर्सौला”

यहोवाले बारम्बार इस्राएलीहरूलाई यस्तो चेतावनी दिनुभयो: “होशियार बस! . . . तिमीहरूले बिर्सौला।” तर यसको अर्थ तिनीहरूले एक-एक कुरा याद गरून्‌ भन्‍ने आशा उहाँ गर्नुहुन्थ्यो भन्‍ने होइन। तिनीहरू यहोवाले गरेका काम नै बिर्सनेगरि आफ्ना कामकुरामा चुर्लुम्मै डुब्नुहुँदैन थियो। तिनीहरूले यी कुरा कहिल्यै बिर्सनुहुँदैनथ्यो—यहोवाको स्वर्गदूतले मिश्र देशका जेठो सन्तानलाई मार्दा र यहोवाले लाल समुद्रमा फिरऊन र उसको सेनालाई डुबाउँदा तिनीहरूलाई बचाएको। सियोन डाँडामा यहोवाले तिनीहरूलाई नियम दिएको र उजाडस्थानमा डोऱ्‍याउँदै प्रतिज्ञा गरिएको देशसम्म पुऱ्‍याएको कुरा पनि इस्राएलीहरूले सम्झनुपर्थ्यो। अर्को शब्दमा भन्‍नुपर्दा यी कुराको सम्झनाले तिनीहरूलाई आजीवन गहिरो प्रभाव पार्नुपर्थ्यो।—व्यव. ४:९, १०; ८:१०-१८; प्रस्थ. १२:२४-२७; भज. १३६:१५.
हामी पनि होसियार हुनुपर्छ नत्र भुलक्कड हुन सक्छौं। दिनहुँ विभिन्‍न दबाब भोग्नुपर्दा यहोवा कस्तो किसिमको परमेश्‍वर हुनुहुन्छ भनेर हामीले बिर्सनुहुँदैन। साथै हामीले त्रुटिरहित जीवनको सधैंभरि आनन्द उठाउन सकोस्‌ भनेर उहाँले आफ्नो छोरा हाम्रो पापको फिरौतीको रूपमा दिएर देखाएको प्रेम पनि हामीले सम्झिरहनुपर्छ। (भज. १०३:२, ८; १०६:७, १३; यूह. ३:१६; रोमी ६:२३) नियमित बाइबल पढ्‌दा, सभामा र प्रचारमा सक्रिय भएर भाग लिंदा यी महत्त्वपूर्ण सत्य हाम्रो मनमा ठप्प बसाल्न मदत मिल्नेछ।
सानो-ठूलो जस्तोसुकै निर्णय गर्नुपर्दा पनि यी महत्त्वपूर्ण सत्य याद गर्नुहोस्‌ र ती सत्यले आफ्नो सोचाइमा प्रभाव पार्न दिनुहोस्‌। यी कुराहरूलाई नबिर्सनुहोस्‌। यहोवाको डोऱ्‍याइ खोज्नुहोस्‌। शारीरिक झुकावको वशमा पर्नु वा त्रुटिपूर्ण हृदयको झुकावमा भर पर्नुको सट्टा आफैलाई सोध्नुहोस्‌: ‘परमेश्‍वरको वचनमा पाइने कुन सल्लाह वा सिद्धान्त ध्यानमा राखेर मैले निर्णय गर्नुपर्छ?’ (हितो. ३:५-७; २८:२६) कहिल्यै नपढेको वा नसुनेको कुरा तपाईं सम्झन सक्नुहुन्‍न। तर यहोवाको सही ज्ञान र उहाँप्रतिको प्रेम बढ्‌दै जाँदा परमेश्‍वरको पवित्र शक्‍तिको मदतले सम्झन सक्ने क्षमता अझै बढ्‌नेछ र त्यस्तो प्रेमले ज्ञान अनुरूप कदम चाल्न तपाईंलाई उत्प्रेरित गर्नेछ।

Comments

Popular posts from this blog

मेमोरी किङ: अर्पण शर्मा

स्मरण शक्ती कसरी तेज बनाउने ?

परीक्षाका लागि कसरी समय व्यवस्थापन गर्ने ?